झापा एक्सप्रेस , ८५१६ पटक हेरिएको
झापा, बाह्रदशी–३ |
लक्ष्मीथान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ। राजगढस्थित मुख्य कार्यलयमा मंगलबार सम्पन्न १६औँ वार्षिक साधारण सभाको समापन बन्द सत्रले इन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
दुई कार्यकालसम्म संस्थाको नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष प्रेमबहादुर घिमिरेले नेतृत्व हस्तान्तरण गर्दै सबैको नेतृत्व विकास र सह–अस्तित्वका लागि आफू सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
नवगठित नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष प्रमिला राजवंशी, सचिव सोमनाथ वराल, कोषाध्यक्ष राधा राजवंशी र सदस्यहरू उषा कुमारी राजवंशी, सान्ति राजवंशी, राजेन्द्र प्रसाद भण्डारी, गायत्री कुमारी शाह,राजकुमार ढकाल र समिम अख्तर रहेका छन्।
त्यस्तै, लेखा समितिको संयोजकमा सुशीला राजवंशी रहनु भएको छ भने सदस्यहरूमा समिम अक्तर र टोपेन्द्र राजवंशी चयन भएका छन्।
संस्थाका नव निर्वाचन अध्यक्ष रावंशीले संस्था विधि र विधान सम्बत कानुनी रूपमा अघिबढ्ने बताएकाछन्।
संस्थाले हाल राजगढ, कचनकवल र झापा गरी तीन सेवाकेन्द्रबाट सेवा प्रदान गर्दै आएको छ। कृषि, दुई पाङ्ग्रे सवारी, व्यापार र शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दै आएको संस्थाले राजगढमा भवन निर्माणका लागि एक कट्ठा पैने छ धुर जग्गा खरिद गरी भवन निर्माण कोष समेत स्थापना गरेको छ।
कृषि क्षेत्रमा आत्मनिर्भरता अभिवृद्धिका लागि संस्थाले ६ सय केजी बेसार बिउ उत्पादन कार्यक्रम पनि सञ्चालन गरेको छ।
हाल संस्थामा १,८९० जना शेयर सदस्य रहेका छन्। संस्थाको चुक्ता शेयर पुँजी रु. १ करोड २६ लाख ४३ हजार ९ सय, कुल निक्षेप रु. ३ करोड ७८ लाख ७६ हजार ८९२ र कुल ऋण लगानी रु. ५ करोड ३ लाख ७ हजार १५५ रहेको छ। चालु आर्थिक वर्षमा संस्थाले सम्पूर्ण खर्च कटाएर रु. १६ लाख ३० हजार १६९ नाफा आर्जन गरेको छ।
साधारण सभाले अघिल्ला वर्षझैं यस वर्ष पनि उत्कृष्ट कार्यका लागि पाँच जना सदस्यहरूलाई सम्मान गरेको छ। सम्मानित सदस्यहरूमा पदमलाल राजवंशी, कृष्णप्रसाद राजवंशी, मैमुन अन्सारी, श्रियान मेचे र नेमी गणेश रहेका छन्।
प्रकाशित मिति: २०२५-११-१२ , समय : ०९:३६:०९ , ११ घन्टा अगाडि