झापा एक्सप्रेस , ६१४५७ पटक हेरिएको
झापा, कनकाई – ५ | बुधबार — कनकाई नगरपालिका–५ मा बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत २७ जना एकल महिलालाई हलो वितरण गरिएको छ। कार्यक्रम वडा नं. ५ को कार्यालयको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रम एकल महिला समूहको अगुवाइमा सञ्चालन गरिएको थियो। हलो वितरणका लागि कुल ५० हजार रुपैयाँको बजेट छुट्याइएको थियो,
वडाध्यक्ष कृष्ण बहादुर राईले एकल महिलालाई कृषिमा आत्मनिर्भर बनाउने अभियानलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताए। उनले भने, “कृषि सामग्री उपलव्ध गराएर हामी महिलाहरूको जीवनस्तर सुधारमा सघाउने लक्ष्यमा छौं। यो कार्यक्रम त्यसकै एउटा सकारात्मक पहल हो।”
वडा सदस्य इन्दीरा देबी अधिकारीले एकल महिलाको आर्थिक अवस्था सुदृढ बनाउन कृषि उपकरण वितरण गरिएको बताइन्। “एकल महिलाहरूले आफैं खेतीपाती गर्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो,” उनले भनिन्।
कार्यपालिका सदस्य सरिता बर्देवा र एकल महिला अध्यक्ष सीता बस्नेतले पनि महिलाको सशक्तीकरणका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा सहभागी महिलाहरूले हलो पाएपछि खेतीपाती गर्न सजिलो हुने बताउँदै वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२५-०५-०७ , समय : २०:०६:०१ , २ हप्ता अगाडि