झापा एक्सप्रेस , ३४००८ पटक हेरिएको
झापा, वैशाख १७ – झापा गाउँपालिका भित्रका कृषक समूहहरू मिलेर ११ सदस्यीय मूल समिति गठन गरेका छन्। फुलगाछी कृषक समूहको अगुवाइमा सम्पन्न भेलाबाट गठित उक्त समितिको अध्यक्षतामा चन्द्र प्रसाद खरेल चयन भएका छन्।
समितिको उपाध्यक्षमा श्याम कुमार मैनाली, सचिवमा विकास खरेल, सह-सचिव खगेन्द्र दंगाल र कोषाध्यक्षमा देवीमाया कोइराला चयन भएका छन्। बाँकी सदस्यहरूमा विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै कृषकहरू चयन गरिएको छ।
समिति गठनको मूल उद्देश्य झापा गाउँपालिकाभित्र छरिएर रहेका कृषक समूहहरूलाई एकीकृत गर्दै साझा आवाज उठाउने, संस्थागत रूपमा बलियो बनाउने र कृषकका हकहितका लागि नीति-निर्माण तहसम्म प्रभावकारी पहल गर्ने रहेको छ।
झापा गाउँपालिकाभित्र हालसम्म १०० भन्दा बढी कृषक समूहहरू दर्ता भए पनि तीमध्ये २४ समूह मात्रै सक्रिय रहेको तथ्य प्रस्तुत गरिएको छ। अझ चिन्ताजनक पक्ष यो छ कि तीमध्ये पनि केवल ५ वटा समूह मात्रै प्रत्यक्ष कृषि पेशामा संलग्न छन्।
कृषकहरूले गाउँपालिकाले हालसम्म कृषि नीतिको अभाव, अनुगमनको कमी, र प्राविधिक सल्लाह तथा सुझावको अभाव प्रति गुनासो जनाउँदै आएका छन्। यसले कृषकहरूलाई व्यवस्थित रूपमा उत्पादन र बजार व्यवस्थापन गर्न असहज बनाएको उनीहरूको भनाइ छ।
नवगठित मूल समितिले यस्ता चुनौतीहरूको समाधान खोज्ने र कृषक आवाजलाई नीतिगत तहमा पुर्याउने प्रतिबद्धता जनाएको छ। आगामी दिनमा तालिम, अन्तरक्रिया, सहकार्य तथा कृषि प्रवर्द्धनका गतिविधि सञ्चालन गर्दै समिति सक्रिय रूपमा अगाडि बढ्ने बताइएको छ।
प्रकाशित मिति: २०२५-०४-३० , समय : २१:००:५० , १ हप्ता अगाडि