कनकाईमा मेयर आवासले मुस्कुराएका बस्तीहरू

प्रस्तुति-केशव चापागाईं , १४७९४  पटक हेरिएको

झापाको कनकाई नगरपालिका–७ कालीमुडा रेडक्रस टोलकी पवित्रा राजवंशी आजभोलि निक्कै खुसी छिन् । उनको दिनचर्या बदलिएको छ । गएका दिनमा गतिलो ओत लाग्ने छानो समेत नभएकी राजवंशी आजभोलि सुकिलो घरमा बस्छिन् । ‘पहिले बाँसको भाँटाले छाप्रो हालेर बसेका थियौं, तर अहिले पक्की घर पाएका छौ,’ राजवंशीले खुसी व्यक्त गरिन् । ‘खानेपानीको समेत समस्या थियो इनारको फोहोरमैला सहितको पानी पिउँथ्यौँ, अहिले शुद्द खानेपानी बनाइदिनु भएको छ,’ उनले भनिन् ।राजवंशी परिवारलाई यो खुसीको क्षणमा ल्याइदिने कनकाई नगरपालिका हो । घर–जग्गा केही पनि नभएका विपन्नका लागि कनकाईले मेयर आवास कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तरगत कनकाई –७ मा एकीकृत नमुना बस्ती तयार गरेको छ । जहाँ राजवंशी जस्तै १० परिवार बस्छन् ।

अघिल्लो वर्ष पुसमा मेयर आवास कार्यक्रम अन्तर्गत कनकाई नगरपालिका–४ को मुसहर बस्तीका मानिसले एकसाथ १२ घर पाए । ४० वर्षदेखि परालको झुपडीमा बस्दै आएका कनकाई नगरपालिका–४ टेक्रामा रहेका मुसहर बस्तीेका १२ परिवार आज खुसी छन् ।सबैको पेसा भनेको नजिकै रहेको कनकाई माई नदीमा माछा मार्नु, दाउरा खोज्नु र विशेषतः गिट्टी चालेर परिवारको गुजारा चलाउनु हो । ‘ हामी कनकाई नदीलाई भगवान किन पनि मान्छौं भने यही माईमा माछा मार्न पाएमा मिठो खाना पाइने हो, माई नदीमा राम्रो दाउरो मुडो फेला पारिएमा बिक्री गरेर नुनतेल चामल चल्ने हो र नदीमा सङ्कलन गरिएको गिटी बिकेमा परिवारको हातमुख जोड्ने हा,’े स्थानीय जीवन ऋषिदेव भन्छन् । ‘हामी त लुटी ल्यायो भुटी खायो परिवारका मान्छे, कनकाई माइले जे दिनुहुन्छ त्यही हात थापेर खाने हो, ’ उनले भने । ऋषिदेव परिवार झुप्रोमा ४० वर्षसम्म बसिसकेको छ । आज उनीहरूले झुप्रोबाट सुरक्षित घरमा सर्न पाएका छन् । मेयर आवास कार्यक्रम अन्तर्गत उनीहरूले घर पाएका छन् ।दैनिक कमाएको रकमले दुई छाक खान पनि समस्या भएपछि उनीहरू वर्षौंदेखि पराली झुपडीमा बस्दै आएका थिए । घर भने पनि दरबार भने पनि उनीहरूको यही झुप्रो हो, उनीहरूले बनाएको घरको जमिन समेत पोखरी मावि तेह्रथुमको हो,जसलाई वार्षिक प्रतिघरले एक सय रुपैयाँ कुत (भाडा) बुझाउनुपर्छ । ‘हरेक वर्ष एक पटक घरको छाना हुरीले उडाउँदा पानी झरीमा हामीले छोराछोरीहरूलाई बिरालोले मुसा सारे जसरी सार्नु परिरहेको थियो’, स्थानीय दुर्गा ऋषिदेवले घर पाएपछि भने । अब यी माथिका सबै कुरा उनीहरूका लागि एक नमिठो सपना भएको छ । कनकाई नगरपालिकाको मेयर आवास कार्यक्रमपछि १२ घर पाएपछि स्थानीय सञ्जय ऋषिदेवले त्यस क्षण खुसी हुँदै आफ्नो व्यथा सुनाएका थिए ।

राजवंशी र ऋषिदेव त प्रतिनिधि पात्र मात्र हुन् । कनकाई नगरपालिकाका धेरै विपन्नले मेयर आवास कार्यक्रम अन्तरगत बस्ने दर्बिलो घर पाएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचन पछि मुलुक संघीयता गएसँगै भएको परिवर्तनमा मेयर आवास कार्यक्रम पनि समेटिएको हो । नेपालको संविधान, २०७२ धारा (४२) उपधारा ( २) मा आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका मानिसको संरक्षण,सशक्तीकरण र विकासका लागि आवासको पनि हक पाउने उल्लेख छ । नेपालको संविधानले नागरिकको स्वास्थ्य, रोजगारी तथा आवासलाई मौलिक हकको रूपमा स्वीकार गरिएको परिप्रेक्ष्यमा कनकाई नगरपालिका क्षेत्र भित्र तोकिएका मापदण्ड भित्र परेका अतिविपन्न, दलित, अल्पसंख्यक, लोपोन्मुख घरवार विहीन समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले मेयर आवास सञ्चालन सम्बन्धी कार्यविधि, २०७४ अनुसार आवास निर्माणका कार्य अघि बढाइएको हो । कार्यविधिमा लाभग्राहीहरूको छनौट गर्ने तथा आवास निर्माणसम्बन्धी नीतिनियमका कुरा तोकिएका छन् । लाभग्राहीको छनौटको मापदण्ड बमोजिमका लाभग्राहीहरूबाट निवेदन आव्हान गरिने, प्राप्त भएका निवेदनहरूलाई अनुगमन समितिले प्रत्येक लाभग्राहीहरूको स्थलगत अनुगमन गरी मापदण्ड बमोजिम भएकाहरूको सूची निर्माण गर्ने र निर्माण गरिएको सूचीभित्र रहेका लाभग्राहीहरूको उल्लेखित मापदण्डको आधारमा प्राथमिकीकरण गर्ने कार्यविधिमा उल्लेख छ ।

कनकाई नगरले गाँस, बास, कपासमा नागरिकको अधिकार सुनिश्चित गर्ने अभियाननै थालेको छ । हरेक आर्थिक वर्षमा विपन्न आवास बनाउँदै गरेको कनकाईले अहिले सम्म ४ सय १५ आवास बनाइसकेको छ । दुःखले खाना र नानाको जोहो गर्दै आइरहेका कनकाईका विपन्न नागरिकले दर्बिलो आवासको व्यवस्था गर्न नसक्दा बर्खामा पानीको समस्या र हिउँदमा हावाहुरीको समस्या झेल्दै आउनु परेको थियो ।नगरपालिकाले टाटी बेरा सहित दर्बिलो टिनको छाना भएको घर बनाइदिन थाले पछि यहाँका विपन्नलाई केही राहत मिलेको छ । उनीहरू नगरपालिकाको यो कार्यक्रमबाट औधी खुसी छन् ।

२०७४ सालको स्थानीय निर्वाचन पछि कनकाई नगरपालिकामा विपन्न नागरिकका लागि मेयर आवास कार्यक्रम अन्तरगत संरचना निर्माण हुने कार्यक्रम अघि बढेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताए । उनले भने, ‘आर्थिक वर्ष २०७६÷०७७ को अन्त्यसम्ममा ह्याबीट्याट नेपाल र सहारा नेपालको संयोजन र नगरपालिकाको लगानीमा २ सय १९ वटा मेयर आवास निर्माण भई हस्तानतरण भैसकेको छ । त्यस्तै आर्थिक वर्ष २०७७÷७८ मा करिब १ सय वटा मेयर आवास बनाइएको र चालु आर्थिक वर्ष २०७८÷०७९ मा थप ९० वटा आवास बनाइएका छन् । यी आवासहरू १ लाख पचास हजार देखि २ लाख पचास हजार रुपैयाँ मूल्यसम्मको लगानीमा बनिएका हुन् ।’

घर नभएर वा नाम मात्रको घर भएर दुःख पाउने नागरिकलाई सुविधासम्पन्न र सुरक्षित घरमा बस्ने कुरा महत्त्वपूर्ण कुरा हो । कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले नगरमा बसोबास गर्ने अल्पसंख्यक, घरबारविहीन र विपन्नलाई घर बनाएर हस्तान्तरण गर्नु स्थानीय सरकारको रूपमा रहेको कनकाई नगरपालिकाको दायित्व भएकाले आफूले उक्त कार्य सम्पन्न गरेको बताए । उनले भने, ‘अझै धेरै घर निर्माण गर्न बाँकी छ, एक चरणमा हामीले घर बनाएका छौं, यो क्रम निरन्तर अघि बढ्छ र हामी कनकाई नगरमा घरबारविहीन नभएको हेर्न चाहन्छौं ।’

२०७४ को स्थानीय निर्वाचनमा जनप्रतिनिधिले गरेका बाचा र प्रतिवद्धता कतिले के कति पुरा गरे वा गरेनन्, जनताले निश्चय नै मूल्याङ्कन गर्लान् । तर कनकाई नगरपालिका भने मेयर आवास कार्यक्रम मार्फत विपन्नको सारथि बनेको देख्न सकिन्छ । यद्दपि यो पुरा भने होइन, नगरमा यस्ता घरबार नभएका अझै धेरै विपन्न छन् । सबै विपन्नलाई कनकाई नगरपालिकाले छिटो भन्दा छिटो समेटोस् र उनीहरूका गाँस, वास र कपासको समस्या हल गर्न मद्दत गरोस् । यसरी मात्र कनकाई नगरपालिका साँचो अर्थमा अभिभावक हुन सक्दछ । नगरको नेतृत्वले सबैभन्दा पीडित र विपन्नको हितमा शुरु गरेको यो कार्यक्रमको निरन्तरता आवश्यक छ ।

प्रस्तुति ः केशव चापागाईं

नमुना फोटो 

प्रकाशित मिति: २०२२-०४-१४ , समय : १९:१८:०८ , २ वर्ष अगाडि