जामुनबारी वनको नयाँ कार्यसमिति चयनका लागि बैशाख ६ गते निर्वाचन

झापा एक्सप्रेस , २६९९५  पटक हेरिएको

झापाको कनकाईमा रहेको जामुनबारी सामुदायिक वनको नयाँ कार्यसमिति चयनका लागी अागामी बैशाख ६ गते निर्वाचन हुने भएको छ ।निर्वाचन समितिले शुक्रवार सामुदायिक बनको कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी बैशाख ६ गते हुने निर्वाचन सम्बन्धी जानकारी दिएको हो ।

मतदान गर्न कोही पनि उपभोक्ता तथा मतदाता बन्चित नहुन भनेर निर्वाचन समितिले स्थानीय राजनीतिक दलसँग छलफल गरेर निर्वाचनलाई सुरक्षित र ब्यवस्थित बनाएको संयोजक दधिराम पोखरेलले बताउनुभयो ।

आगामी बैशाख ४ गते राती १२ बजेदेखि चुनाव प्रचारप्रसार मौन अवधि रहने, ६ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतदान समय ३ बजेसम्म रहेपनि मतदान केन्द्रमा प्रवेश गरेका सवैलाई मतदान गर्न दिइने, सोही दिन साँझ ७ बजेदेखि मतगणना शुरु हुने निर्वाचन समितिको कार्यतालिका रहेको निर्वाचन समिति संयोजक पोखरेलले बताउनु भयो ।

सामुदायिक वनको ३० वटा टोलको ५ वटा क्षेत्रमा ८ सय ५१ उपभोक्ता मतदाता रहेको र मतदान गर्न आउने उपभोक्ताले अनिवार्य रुपमा वनबाट प्राप्त मतदाता परिचय पत्र लिएर आउनु पर्नेछ । वन समुहले जारी गरेको कार्डमा नाम भएका २ जना मध्ये एकले मतदान गर्न पाउने निर्वाचन समितिका सचीव इन्द्रपुलामी मगरले जानकारी दिनुभएको छ ।

अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र कोषाध्यक्ष एकसहित १४ जना निर्वाचित र एक जना सदस्य मनोनित हुने कार्य समितिको लागि निर्वाचन हुन लागेको समितिमा ६ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका भएपनि आधिकारिक घोषणा हुन भने बाँकि रहेको निर्वाचन समितिका सदस्य भुवन खतिवडाले जानकारी दिनुभयो । उनका अनुसार अन्य ८ पदका लागि भने मतदान हुनेछ ।

बैशाख ६ गते हुने बन समुहको निर्वाचनमा तीन वटा प्यानलले उम्मेद्वारी दिएका छन् । पर्शुराम गिरी, सिता अधिकारीको र बुद्धिमान बोहाराको नेत्रीत्वमा प्यानल खडा गरी उम्मेद्वारले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन ।

प्रकाशित मिति: २०२४-०४-१३ , समय : ११:४८:१३ , ३ हप्ता अगाडि