अर्जुनधाराको बेलटारमा आगलागी, एक घर पुर्णरुपमा नस्ट

झापा एक्सप्रेस , १७३६४  पटक हेरिएको

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर-२ बेलटारस्थित एक घरमा आगलागी भएको छ ।

अर्जुनधरा-२ को बेलटार चौकमा रहेको मानबहादुर सार्कीको घरमा आगलागी भएको सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पका प्रमुख असई हिरबहादुर राईले जानकारी दिनुभयो ।

बुधबार बेलुकी करिब साँढे ९ बजे विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको राईले बताउनुभयो । आगलागी भएको करिब डेढ घण्टापछि आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो ।

आगो नियन्त्रणमा लिन बिर्तामोड नगरपालिकाको दमकल परिचालन गरिएको थियो । त्यस्तै सशस्त्र प्रहरी बल खुदुनाबारीको टोलि र अस्थायी प्रहरी चौकी खुदुनाबारीको टोलि, स्थानीय र जनप्रतिनिधिहरुको सक्रियतामा आगो नियन्त्रणमा आएको बताईएको छ ।

अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य विमला रोक्काले आगो नियन्त्रणलाई सहज बनाउन जेसिबीको प्रयोग गरेर आगो सल्किएको घर भत्काईएको बताउनुभयो ।

रोक्काका अनुसार टिनको छाना र सिमेन्टको वाल भएको उक्त घरमा केहि समय अघिदेखि भोजपुर स्थायी ठेगना भएका दुई जना मानिस भाडामा बस्दै आएका थिए । उनीहरु भने सुरक्षीत रहेको उहाँले बताउनुभयो ।

३ कोठा भएको उक्त घर आगलागीबाट पुर्णरुपमा जलेर नस्ट भएको बताइएको छ । अन्दाजी ५ लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-२१ , समय : ०८:४८:५२ , ३ महिना अगाडि