झापामा शिवको ‘उत्पत्ति’ भएको भन्दै हेर्नेहरूको घुइँचो

झापा एक्सप्रेस , ५१९५५  पटक हेरिएको

झापाको बिर्तामोड- १ मा शुक्रवार बिहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरूको घुइँचो लाग्यो । स्थानीय ‘माता भनेर परिचित’ मुना आचार्यको घर नजिकै शिवको प्रतिमा उत्पत्ति भएको हल्लाले हेर्नेहरूको घुइँचो लागेको थियो ।

धार्मिक अनुयायीहरूले विश्वास गरे पनि अधिकांशले भगवानको उत्पत्ति हुनै नसक्ने प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई फण्डाको रुपमा प्रचार गरिरहेका छन् । शिवको उत्पत्ति भएको खबर सुनेपछि दिनभर हेर्ने र पूजा गर्नेहरूको भीड लागेको थियो ।

शिवरात्रिकै दिनमा उत्पत्ति भएको भन्दै धेरैले विश्वास गरेको प्रतिक्रिया दिए । कतिपयले कमाउने मेलो हुन सक्ने भन्दै आशङ्का समेत व्यक्त गरेका छन् । आचार्यको घर नजिकै ३ः३० बजे बिहान ठुलो आवाज आएको थियो । ठुलो आवाज आएको सुनेर आचार्यको परिवारसहित छिमेकीहरूले बाहिर हेर्दा शिवको प्रतिमा देखेका थिए ।

पहेँलो रङमा देखिएको उक्त प्रतिमामा पूजा गरेर पैसा चढाउनेहरूको शुक्रवार ठुलो भीड थियो । माता आचार्यले तीन दिनअघि नै शिवको मूर्ति प्रकट हुने आफूले थाहा पाएको बताइन् । उनले शिवको मूर्ति प्रकट भएको समयमा घरका सबै ढोकाहरू खुलेको, ढुङ्गा गिरी झरेजस्तो आवाज आएको सुनाइन् । मैले हरेक वर्ष केही न केही प्राप्त गरिरहेको छु, उनले भनिन् – यो वर्ष भगवान् नै प्राप्त भयो । आफूलाई लोकको कल्याण गर्ने मौका मिलेको रहेछ ।

प्रकाशित मिति: २०२४-०३-०९ , समय : १८:०२:०५ , ९ महिना अगाडि