झापामा सशस्त्रकाे खुकुरी प्रहारबाट छ जना घाइते

झापा एक्सप्रेस , २०६५२  पटक हेरिएको

झापा । झापाकाे मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएकाे छ । झडपकाे क्रममा सशस्त्र प्रहरीकाे खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन् ।

घाइतेहरू बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

नेपाल-भारत सीमा पिलर ९०/२-९०/३ नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीकाे सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो । साेही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका कोट मास्टर र चालकले खुकुरी निकालेर एक्कासि प्रहार गरेकाे स्थानीयले आराेप लगाएका छन् । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।

विषेश राजबंशी र मिलन चापागाईंकाे हात काटिएको छ । दीपक बातर र आनह यादवकाे शरिरमा चोट लागेको छ । भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । हाल पाँच जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी आएपनि अन्य पनि घाइते भएको हुनसक्ने भएकाले सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीले बताए ।

प्रकाशित मिति: २०२४-०३-०२ , समय : ०६:३०:३७ , ३ महिना अगाडि