बिरिङ पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती

झापा एक्सप्रेस , २८३७८  पटक हेरिएको

जनक न्यौपाने

झापाको अर्जुनधारा नगरपालिका वाड नं ७ मा पर्ने बिरिङ पुल गत असार महिनामा आएको बाढीले भत्किएपछि हाल सम्म पनि मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।

खुदुनाबारी बिर्तामोड सडक खण्ड अन्तर्गत पर्ने बिरिङ पुल अहिलेसम्म पनि मर्मत नहुँदा स्थानीयले जोखिमपुर्ण यात्रा गरिरहेका छन् । खुदुनाबारीबाट बिर्तामोडसम्म आवातजावत गर्नका लागि अन्य बैकल्पिक मार्गहरु भएपनि स्थानीय भने छोटो दुरी पर्ने भएका कारण सोही पुलबाट यात्रा गर्न रुचाउँछन् । अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हिमराज सेँढाईले पुल धेरै वर्ष अगाडि बनेको र हाल यसको आयु सकिदै गएकोले अब सँघीय बजेट मार्फत मात्र पुल निर्माण गर्न सकिने जानकारी दिनुभयो।

यस अघि नगरले केही बजेट छुट्याएर बिपत ब्यवस्थापन समिति गठन गरि पुललाई तत्काल मर्मतको प्रयास गरिएको भए पनि समितिको ढिला सुस्तिका कारण पुल यो अवस्था रहेको उहाँले जानकारी दिनुभयो। हाल पुलको दक्षिणपट्टी एउटा बोर्ड राखिएको छ जसमा आफ्नै जोखिममा यात्रा गर्नुहोला भन्ने जानकारी दिइएको छ तर सूचना अधिकारी सेढाईका अनुसार उक्त बोर्ड नगरले नराखेको र पहिले नै सर्बसाधारणलाई उक्त पुलबाट यात्रा नगर्न सुझाव दिई सकिएको थियो। उहाँले जोखिमयुक्त यात्राले थप दुर्घटना निम्त्याउन सक्ने भएकोले बैकल्पिक मार्गको प्रयोग गर्न सर्बसाधारणलाई अनुरोध समेत गर्नु भएको छ।उहाँले हाल नगरप्रमुख यही बिषयको लागि काठमाडौ रहनु भएको जानकारी गराउदै पुल निर्माणका लागि संघिय कार्यालयले डी .पि.आर समेत गरिसकेको बताउनु भयो।

प्रकाशित मिति: २०२३-०९-१८ , समय : १९:२२:०५ , १ वर्ष अगाडि