झापा गाउँपालिकाको २०८०/०८१ को अनुमानित बजेट ४९ करोड ९० लाख १७ हजार २ सय

झापा एक्सप्रेस , २४२०७  पटक हेरिएको

झापा । झापा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४९ करोड ९० लाख १७ हजार २ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको सभापतित्वमा सम्पन्न सभामा गाउँपालिकाकी उपाध्यक्ष अन्जुदेवी थपलियाले गाउँपालिकाको चौधौं गाउँ सभा मार्फत गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष थपलियाले खस्कदो अर्थतन्त्र ,राजस्व संकुचन,मुद्रास्फतिले ल्याएको चुनौती र अवसरलाई सामना गर्ने र अर्थतन्त्रको पुनरउत्थान गर्दै तिब्र आर्थिक विकासमा लैजाने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

उपाध्यक्ष थपलियाले “गुणस्तरीय शिक्षा ,स्वास्थ्य,कृषी र पुर्वाधार:समृद्ध झापा गाउँपालिका आधार” भन्ने मुल नारा सहित गाउँपालिकाबासीको जीवनस्तरमा परिवर्तन ल्याई गरिबी न्यूनिकरण गर्दै विकासको प्रतिफलमा न्यायोचित वितरण गर्दै परिवर्तनको प्रत्यक्ष अनुभूति गराउने यस बजेटको उदेश्य रहेको बताउनुभयो ।उहाँले बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रम, विनियोजन विधेयकमा आएका सुझावलाई समेटेर निर्माण गरेको बताउनुभयो।

बजेट प्रस्तुत गर्दै उहाँले झापा गाउँपालिकाको नीति तथा कार्यक्रमलाई यस बजेटले सके सम्म सम्बोधन गर्ने र कार्यक्रमलाई सोही अनुरुप बजेट विनियोजन गर्ने प्रयास गरेको बताउनुभयो ।

गाउँपालिकाले आय तर्फ संघीय राजश्व बाँडफाँड तर्फ रु ९ करोड ७८ लाख ४९ हजार २ सय,संघीय सशर्त अनुदान रु २२ करोड ३ लाख ,संघीय समानीकरण अनुदान रु ११ करोड ६९ लाख,संघीय समपुरक अनुदान रु ५० लाख,संघीय विषेश अनुदान १ करोड १५ लाख,प्रदेश समानिकरण अनुदान रु ७३ लाख ६२ हजार,प्रदेश राजश्व बाँडफाँड रु ४३ लाख २१ हजार,प्रदेस सशर्त अनुदान ८१ लाख २५ हजार,प्रदेश समपुरक अनुदान ९६ लाख ६० हजार र आन्तिक आय रु १ करोड ८० लाख गरेर जम्मा अनुमानित आय रु ४९ करोड ९० लाख १७ हजार २ सय प्रस्तुत गरेको छ।

गाउँपालिकाले व्यय तर्फ चालू खर्च शिर्षकका सम्पुर्ण क्रियाकलापहरुका लागि एकमुष्ट रु ६ करोड १५ लाख ७० हजार रुपैयाँ विनियोजन गर्दै पुँजीगत खर्च तर्फ आर्थिक विकास तर्फ रु २ करोड २० लाख,पुर्वाधार विकास तर्फ रु १० करोड ५१ लाख,वन वाताबरण विपद तथा सरसफाई तर्फ रु ६ लाख,संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ रु ८ लाख ,सामाजिक विकास तर्फ रु ५ करोड ४३ लाख ५६ हजार,संघीय सशर्त अनुदान रु २२ करोड ३ लाख,संघीय विशेष अनुदान रु १ करोड १५ लाख,संघीय समपूरक अनुदान रु ५० लाख,प्रदेश सशर्त अनुदान ८१ लाख २५ हजार,प्रदेश समपुरक अनुदान ९६ लाख ६० हजार गरेर जम्मा अनुमानीत व्यय रु ४९ करोड ९० लाख १७ हजार २ सय प्रस्तुत गरेको छ।

प्रकाशित मिति: २०२३-०६-२५ , समय : १९:०२:१७ , १ वर्ष अगाडि