लोक कथा-कल्पबृक्ष

झापा एक्सप्रेस , ८७०२३  पटक हेरिएको

संकलक- उदय मैनाली

नेपालको कुनै एक गाउँमा भरखर विवाह गरेको एक जना केटो भदौको चर्काे घाममा पहाडको बाटो हुंदै धन कमाउन भनी लाहोर जान एक्लै हिंडिरहेको थियो । प्रचण्ड गर्मीको कारण केही बेर हिंडेपछि उसलाई खुब थकाई तथा तिर्खा समेत लाग्यो । पहाड नांगो भएकाले बाटो वरपर शीतल छहारी दिने कुनै रुखबिरुवाको नाम निशाना थिएन । नांगो डांडामा कतै पानीको स्रोत पनि थिएन । गन्तब्य अनिश्चित टाढा भएकाले ऊ थकाई लागे पनि हिँडन बाध्य थियो । त्यसैले सकी नसकी ऊ गैरहेको थियो । ४ कोस हिंडे पछि उसले बाटो माथि एउटा विशाल बृक्ष देख्यो । लामो चौतारामा साधु झैं बसी रहेको त्यो बृक्षको शीतल छायाँमा एकछिन बिश्राम नगरी ऊ अगाडि बढने कुरै थिएन । त्यसैले त्यो केटा पनि बिस्तारै दुई खुट्किला चढेर त्यो बृक्षको छाहरी मुनि पुग्यो । मन्दमन्द शीतल हावाको स्पर्शले पुलकित एवं रोमाञ्चित भएको त्यस केटाले आनन्द बिभोर हुंदै भन्यो अहा क्या शीतल, कस्तो आनन्द यस बेला एक गिलास चिसो पानी पिउन पाए कस्तो हुँदो हो ।

उसले बोलेको मात्र थियो पानी भरिएको एउटा गिलास तत्काल त्यहाँ उपस्थित भयो । उसले बडो मज्जासंग पानीको गिलास रित्यायो । त्यसपछि उसले सोच्यो तिर्खा त मेटिया अव एकछिन सुत्न पाए पनि हुन्थ्यो तर यो सारो भुईंमा कसरी पल्टिने ? एउटा सुकोमल ओछ्यान भए कति जाति हुंदो हो ।

उसले सोचेको मात्र के थियो एउटा बाक्लो र ठूलो ओछ्यान तकिया सहित भुईंमा आइपुग्यो । गजवको आनन्ददायी ओछ्यान देखेर दंग पर्दै उसले भन्यो यति सुन्दर र बाक्लो ओछ्यान त मेरो कल्पनामा पनि थिएन । मेरी श्रीमती पनि अहिले यहाँ भएको भए कत्ति मज्जा हुन्थ्यो । ऊ कत्ति खुसी हुन्थी होली । उसले श्रीमतीको शब्द उच्चारण गरेको मात्र थियो उसकी श्रीमती पनि टुप्लुक्क त्यहाँ आई पुगिन् । श्रीमती देख्नासाथ उसले आश्चर्य मानेर सोच्न थाल्यो यो के हुंदै छ ? मैले कल्पना मात्र के गरेको हुन्छु त्यो तत्काल पुगि हाल्छ । उसले अझ सोच्यो कतै यहाँ कुनै गडबड त छैन ? के यिनी उही मेरी श्रीमती नै त हुन् त ? कतै यो यस एकान्तमा मलाई एक्लै देखेर आएकी किचकर्नी त होइन ? किचकर्नी हुन् भने त यसले मलाई मार्न पनि सक्छे । उसले के यो सोचेको मात्र थियो त्यो उसकी स्वास्नी त साँच्चैकै किचकर्नी नै बनिन् । आफ्नो श्रीमती हेर्दाहेर्दै किचकर्नी बनेको देखेर त्यो केटो बेहोस् भयो । उसको होस फर्केर आउंदा पूर्वमा घाम भर्खर उदाएको थियो । उसले हिजोको कुरा सम्झेर विदेश जाने विचार त्यागी घरै फर्कने निर्णय गर्यो । उसले यति मात्र के सोचेको थियो हावाको तीव्र एक झोंक्का आएको महसुस गर्दा नगर्दै ऊ त आफ्नै घरको आगनमा पुगि सकेको थियो । अस्ति मात्र लाहुर जान्छु भनी हिंडेको छोरालाई घरमा नै फर्केको देखेर उसकी आमा आश्चर्यचकित एवं पुलकित हुंदै छोरालाई सोधिन् ः के भयो ?

त्यस पछि त्यो केटाले आफ्नी आमालाई सवै बृतान्त सुनायो । यो कुरा त्यो गाउँको एक अनुभवी पाको बुढोले पनि सुनेछ क्या रे । एक दिन त्यो बुढो केटाको घरमा आएर उस्लाई बेस्सरी गाली पो गर्न थाल्यो । धत् लाटा, तँ त कुनै साधारण बृक्षको मुनि पुगेको थिइनस्, त्यो त कल्पबृक्षको बुक्ष पो हो त जे चितायो त्यही पुर्याउने अलौकिक बृक्ष । तैले त्यस बृक्ष मुनि बसेर राम्रो राम्रो कुरा मात्र सोच्नु पर्दैनथ्यो ? त्यस बृक्ष मुनि बसेर ऐश्वर्य वैभव, सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको राम्रो राम्रो कुराको मात्र कामना गरेको भए तँलाई आज कति सुख सुबिस्ता हुन्थयो ? तैले आफ्नो, यो गाउँको र यो देशको वारे राम्रो कुरा जे चिताएको भए पनि ती कुराहरु पुग्थ्यो । यो देशको उन्नती र प्रगति अनि शान्ति अमनचैनको कुरा सोच्नु पर्दैनथ्यो ?

उसले त्यस बृक्षको फेदमा बसेर जे जति राम्रा नराम्रा कुरा कल्पना गरेर पुगेको भएता पनि उस्ले आफू कल्पबृक्ष जस्तो अलौकिक बृक्षको मुनि छु भन्ने कुरोको कुनै भेउ नै पाएको थिएन ।

वास्तवमा यो संसार पनि एउटा कल्पबृक्ष भन्दा कम छैन । हामीहरु संसाररुपी कल्पबृक्षको छायाँमा छौं । यदि हामीले सदैव राम्रो र असल कुरा मात्र सोच्दछौं भने सधैं राम्रो र असल कुरा मात्र प्राप्त हुन्छ । हाम्रो मनमा उठने राम्रो र नराम्रो वा असल र खराव बिचार मध्ये सधैं हामीले राम्रो र असल कुरा मात्र प्राप्त गर्दछौं । यदि हामीले नराम्रो र खराव कुरा सोच्दछौं भने हामीलाई नराम्रो र खराव कुरा नै आई लाग्छ । यादृशी भावना यस्यः सिद्धिर्भवति तादृशी, जस्तो जस्तो सोच्देै जान्छौ त्यस्तै त्यस्तै पुग्दै जान्छ भनेर हाम्रो वेदमा पनि लेखिएको छ । हाम्रा भावनाहरु राम्रा छन्, हाम्रो हृदय पवित्र छ र हाम्रो सोचमा कुनै खरावी छैन भने संसाररुपी कल्पबृक्षले हामीले इच्छा गरे बमोजिम राम्रा र असल बस्तु वा कुराहरु पाइ नै रहन्छौं । वास्तवमा असल र खराव दुवै कुरा वा बिचार हाम्रो हृदय वा मनबाटै उत्पन्न हुन्छ । त्यसैले बेदब्यासले भनेका छन् मनयव मनुष्यानाम् करणं बन्ध मोक्षयम्, मानिसको मन नै मुक्ति र बन्धनको कारण हो । असल वा खराव कुरा कहिल्यै बाहिरबाट आउंदैन । त्यसकारण हामी सवैले हाम्रो हृदयलाई सकेसम्म पवित्र राख्ने प्रयास गर्नु पर्दछ ।

प्रकाशित मिति: २०२३-०६-०७ , समय : २०:४७:५३ , १ वर्ष अगाडि