झापामा केरा खेती बर्षेनी विस्तार हुँदै

झापा एक्सप्रेस , ४९१७१  पटक हेरिएको

फोटो-डिकेश लामा

डिकेश लामा
झापा-धान भन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भए पछि झापाका किसानले केरा खेतीलाई जोड दिन थालेका छन् । सरकारको सहयोगसँगै आम्दानी समेत राम्रो हुन थाले पछि किसानले धान उत्पादन हुने खेतमा समेत केरा खेती विस्तार गर्न थालेका छन् । चालु आर्थिक बर्षमा केरा व्लक कार्याक्रम निरन्तरका लागि १३ लाख रुपयाँ बजेट विनियोजन गरिएको छ । झापा गाउँपालिका क्षेत्रमा व्यवासायिक रुपमा खेती गर्ने किसानले व्लक संचालनका लािग यस अघि सरकारबाट २५ लाख रुपयाँ सहयोग पाए पछि खेतीमा थप उत्साहित भएका छन् ।

प्रदेश सरकारको सहयोगमा केरा भण्डारण र संकलनका लागि गोदाम घर समेत निर्माणमा गरिएको छ । सरकारको अनुदानले खेती विस्तार र ढुवानीका लागि साधान खरिद समेत गरिएकाले खेतीमा थप आकार्षण बढेको खेतीका अगुवा चन्द्रप्रसाद बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार अघिल्लो बर्ष प्रदेश सरकारले सहयोग गरेको रकमबाट गाडी खरिद गरे पछि अहिले बजारीकरणमा समेत टेवा पुगेको छ ।

धान खेती गर्दा एक विगाह क्षेत्रमा राम्रो उत्पादन हुँदा एक लाख रुपयाँसम्म आम्दानी हुने गर्छ । तर केरा खेतीबाट धान भन्दा राम्रो आम्दानी गर्न सकिने हुँदा किसानको खेती तर्फ आकार्षण बर्षेनी बढ्दै गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । प्रमुख विष्टका अनुसार सिंचाइ देखि ढुवानीसम्म सरकारले सहयोग गरे पछि किसानहरु खेतीमा आकार्षित भएका हुन् । खेती शुरु गर्दा केही खर्चालु हुने भए पनि त्यस पछि लगातार आम्दानी हुने भए पछि किसानहरुले केरा खेतीलाई जोड दिएका हुन् ।

केरामा आत्मानिर्भर बनेको झापा जिल्लामा उत्पादनको हिसावमा झण्डै १९ सय हेक्टरमा प्रदेश नम्बर एकमै सवै भन्दा धेरै ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । अन्य बाली भन्दा राम्रो आम्दानी र सरकारको सहयोग समेत प्राप्त भएकोले बर्षेनी खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०२-२१ , समय : २०:४८:३६ , १ वर्ष अगाडि