कनकाई नगरपालिकामा भुस्सिया कुकुर आतंक,एकको मृत्यु

झापा एक्सप्रेस , १६५९८  पटक हेरिएको

सांकेतिक तस्बिर

आईपी भट्टराई

झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा भुस्सिया कुकुरको टोकाईबाट एकजना वृद्धको मृत्यु भएको छ ।

सडक कुकुरको टोकाईबाट स्थानीय ६३ बर्षिय अभिचन्द्र दाहालको मृत्युभएको हो । दाहालको गत मंसिर अन्तिम सातामा कुकुरले टोकेर घाइते बनाएको थियो । सामान्य घाइते बनेका दाहालले घरेलु उपचार गरि घरमै रहनु भएको थियो । पछिल्लो समय दाहाल पानी देखेपछि डराउने गर्न थालेपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको स्थानीयको भनाई छ । उपचारमा लैजादा अस्पतालले रेबिज भएको बताएको उपचारपछि घरमा रहेको बेला आइतवार आज दिउसो १ बजे दाहालको निजि निवासमा मृत्यु भएको हो ।

यता कनकाई नगरपालिका क्षेत्रमा सामुदायिक कुकुरले बाटो हिडने बटुवा तथा पाल्तु जनावारलाई टोकेर हैरानी दिने गरेको स्थानीय गणेश सुवेदीले बताउँनुभयो । कनकाई नगरपालिकाको ३,४,५,६ र २ नम्बर वार्डमा छाडा छोडिएका सामुदायिक कुकुरले बाटो हिडने बटुवा र कृषकका पालेका जनावारलाई टोकेर घाईते बनाउँने र हैरानी दिने गरेको पाइएको छ ।
यता यसवारेमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले सामुदायिक कुकुरलाई सोझै मार्न नपाइने कानुनी प्रावधान रहेको बताउँनुभयो । सामुदायिक कुकुर नियन्त्रणका लागि हरेक बर्ष नगरपालिकाले विभिन्न संघसंस्थाको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजको भ्याक्सिङ लगाउने काम गरिरहेको जानकारी दिनुभयो । सामुदायिक कुकुर नियन्त्रणका लागि स्थानीय संघ संस्थाको समन्वयमा कार्यक्रमहरु संचालनको तयारी नगरपालिकाले थालेको समेत नगरप्रमुख पोखरेलले बताउँनुभयो ।

प्रकाशित मिति: २०२३-०२-१२ , समय : १७:११:१९ , १ वर्ष अगाडि