पृथ्वीनारायण शाहको शालिक बनाउने कनकाईका नगरप्रमुख सम्मानित

झापा एक्सप्रेस , २०९६६  पटक हेरिएको

कनकाई-झापाको कनकाई नगरपालिका अगाडि गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पुर्णकदको शालिक बनाएको भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति झापाले सम्मान गरेको छ ।

३०१ औ पृथ्वी जन्म जयन्तीको अवशरमा झापा कनकाई नगरपालिका १ स्थित पृथ्वीनारायण शालिक परिषरमा राप्रपाले कार्यक्रमको आयोजना गरेको हो । राप्रपाका केन्द्रिय प्रवक्ता तथा प्रदेश सरकारका विना विभागीय मन्त्री भक्ति सिटौला तथा राप्रपाका प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले कनकाई नगरपालिका प्रमुख पोखरेललाई सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै विना विभागीय मन्त्री सिटौलाले राजा महाराजाहरुको शालिक ढालिरहेको वेलामा कनकाई नगरप्रमुखले पृथ्वीनारायणको शालिक बनाएर राष्ट्रनिमार्ताप्रति सम्मान गरेको बताउँनुभयो ।

सम्मान ग्रहणपछि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफुले पृथ्वीनारायण शाहको शालिक बनाउँदा धेरैले राजावादीको आरोप समेत लगाएको बताउँदै पृथ्वीनारायण शाहको राष्ट्र निर्माणप्रतिको योगदानलाई चिरस्थायी राख्नका लागि शालिक बनाएर हरेक बर्ष पृथ्वी जयन्ती समेत मनाउने निर्णय गरेको बताउँनुभयो ।

प्रकाशित मिति: २०२३-०१-११ , समय : १९:१३:२१ , १ वर्ष अगाडि