टयुमर पीडित राजकुमारको उपचारमा कतारबाट खडका र कँडेलले गरे सहयोग

झापा एक्सप्रेस , १२८६६  पटक हेरिएको

झापा-खुट्टामा टयुमर पलाएको कारण क्यान्सरको जोखिममा परेका झापा गाउँपालिका वडा नं ७ मदरगाछका एक युवकको उपचारका लागि सो ठाउँबाट बैदेशिक रोजगारीमा गएका दुई जना युवकले नगद ५० हजार भन्दा बढी रकम सहयोग गरेका छन । सामाजिक सञ्जाल मार्फत गरिएको आव्हानकै आधारमा उनको उपचारका लागि दाताहरुले स्वैच्छिक रुपमा अहिले सम्म करिब २ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेका छन ।
कन्काई अस्पताल विर्तामोडमा खुट्टाको अप्रेशन गरिएका राजकुमार गणेशको उपचारका लागि कतारमा रहेका झापा ६ का मोहन खड्काको अगुवाईमा ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको उपचार सहयोग जुटाउन सक्रिय रहेका सामाजिक अभियान्ता काजी राउतले जानकारी दिए । खडकाले सो रकम आफू कार्यरत कम्पनीमा रोजगाररत अन्य नेपाली दाजुभाईहरुबाट समेत संकलन गरेर पठाएका बताइएको छ ।
त्यसैगरी राजकुमारको उपचारका लागि झापा गाउँपालिका वडा नं ६बाट कतारमै रोजगारका लागि भएका मनोज कँडेलको अगुवाईमा कतारबाटै थप १३ हजार ७८२.९० रकम सहयोग प्राप्त भएको राउतले जनाएका छन । आर्थिक विपन्नताका कारण राजकुमार विगत १८ महिनादेखि उपचार गर्न नसकि थला परेका थिए । उनको आर्थिक अवस्था कम्जोर भएको बारे अस्पताल र चिकित्सकहरुलाई जानकारी गराएर सहयोग जुटाएरै भएपनि उपचार गर्ने अठोट लिएर कन्काई अस्पतालमा भर्ना गरिएका राजकुमारको केही दिन अघि शल्यक्रिया गरेर टयुमर निकालिएको थियो । अस्पताल र डाक्टरहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो , हामीले पनि उपचारमा सकेसम्म सहयोग जुटाउने अठोट लियौं, देश विदेशबाट मनकारी सहयोगी दाताहरुले सहयोग गरिरहनु भएको छ – अभियानमा सक्रिय राउतले निष्कर्ष न्यूजसंगको कुराकानीमा भने ।
उनका अनुसार राजकुमारको टयुमरको अप्रेशन सफल भइसके पनि कृत्रिम घुँडा लगाउनु पर्ने चिकित्सकहरुको सुझाव छ । यसलाई पूर्णरुपमा सफल बनाउन करीब ६ लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकहरुले बताएका छन ।

प्रकाशित मिति: २०२३-०१-०७ , समय : ०७:५४:२५ , २ वर्ष अगाडि