झापा एक्सप्रेस , ११३५६ पटक हेरिएको
शरणामती।नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार पुजन घिमिरेलाई धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।शाखाले एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो।
‘नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ।
पीडित पत्रकारका अनुसार बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईले बी एण्ड सी मेडिकल कलेजका लागि जग्गाधनी पूर्जा कीर्ते गरी सरकारी निकायमा पेश गरेर अस्पताल सञ्चालनको अनुमति लिएको भन्ने विषयमा सगरमाथा टेलिभिजन लगायतका सञ्चारमाध्यममा प्रशारित समाचारको विषयलाई लिएर Bijaya Singh Thapa, Saroj Rijal भन्ने फेसबुक आइडीबाट पत्रकार घिमिरेकोे फेसबुक म्यासेज बक्स तथा समाचार लिंक पोष्ट भएको फेसबुक पेजको कमेन्ट बक्समा अश्लील गालीगलौजसहित पत्रकार घिमिरेलाई भौतिक कारबाहीको धम्की दिइएको छ । त्यस्तै दुर्गा प्रसाईं समर्थक नामको फेसबुक पेजबाट पत्रकारलाई पेशाप्रति हतोत्साही बनाउने विभिन्न सामग्री पोष्ट गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तीमा उल्लेख छ।
‘महासंघ पत्रकारलाई असुरक्षित बनाउने गरी धम्की दिइएको यस घटनालाई गम्भीर रूपमा लिई धम्की दिने व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।साथै, एउटा सञ्चार माध्यममा आएको समाचार अर्को सञ्चार माध्यमले खण्डन गर्ने कार्य पत्रकारिताको आचारसंहिता विपरीत हुने कुरा सबैलाई जानकारी नै छ । प्रकाशित प्रशारित समाचार सामग्रीप्रति चित्त नबुझेमा त्यस विषयको खण्डन सम्बन्धित सञ्चार माध्यममार्फत नै गर्नुपर्ने वा सम्वन्धित पक्ष कानुनी उपचारमा जान पाउने स्पष्ट व्यवस्था छ । त्यस्तै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा केही व्यक्तिले पत्रकारिताबारे समाजमा भ्रम र वितृष्णा जगाउने कार्य गरेकाले त्यस्तो कार्यसमेत तत्काल बन्द गर्न तथा गराउन महासंघ झापा सम्वद्ध सबैमा आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: २०२२-११-०६ , समय : १५:२०:३० , २ वर्ष अगाडि