तास खेल्दा पैसामा कुरा नमिलेपछि हत्या

झापा एक्सप्रेस , १५१००  पटक हेरिएको

दसैँमा तास खेल्ने क्रममा झापाको अर्जुनधारामा एकजनाका हत्या भएको पाइएको छ। अर्जुनधारा–११ नयाँ बसपार्कस्थित एक होटलमा सँगै तास खेलिरहेका व्यक्तिको हत्या भएको हो। १७ असोज अर्थात अष्टमीको दिन तास खेल्ने क्रममा हारजित भएको पैसामा कुरा नमिलेपछि ताप्लेजुङ सिदिम्बा–४ घर भई अर्जुनधारास्थित नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २५ वर्षीय नबिन्द्र गुरुङको हत्या भएको हो।

उनलाई १८ असोजमा प्रहरीले बसपार्क छेउको प्लटिङमा मृत अवस्थामा भेटाएको थियो। चोटसहितको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानमा उनको हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले इलाम नगरपालिका–९ घर भई अर्जुनधारा नयाँ बसपार्कमा ताप्लेजुङ–इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर फालेलुङ–७ घर भई सोही होटलमा काम गर्ने २१ वर्षीय अमृत आचार्य र उनकी श्रीमती २३ वर्षीया बिमला राईलाई पक्राउ गरेको छ। अधिकारीलाई २० असोजमा होटलबाटै र आचार्य र उनकी पत्नीलाई गाउँ गएर लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए। पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। घटनामा संलग्न एकजना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

‘तासमा ठूलो पैसाको विवाद पनि होइन। १२–१५ हजारको मात्र हो। विवाद भएपछि गुरुङमाथि मसला पिस्ने ढुंगाको लोहोरो र चक्कु प्रहार गरेको खुल्न आएको छ,’ प्रहरी उपरीक्षक पोखरेलले भने, ‘टाउकोको पछाडिपट्टि र नाकमा समेत प्रहार गरेको पाइएको छ।’ उनलाई गम्भीर घाइते बनाई घटना लुकाउन अधिकारी र आचार्यले बसपार्क नजिकैको प्लटिङमा लगेर फालेको प्रहरीले जनाएको छ। आचार्यकी श्रीमती बिमलाले घटना थाहा पाएर पनि प्रहरीलाई जानकारी गराउनुको सट्टा हत्यामा संलग्न श्रीमानसँगै भागेर गाउँ पुगेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए। हत्यामा प्रयोग भएको ढुंगाको लोहोरो, धारिलो चक्कुलगायत पनि फेला परेको कुँवरले जानकारी दिए।नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२२-१०-१० , समय : १७:४४:५२ , २ वर्ष अगाडि

error: Content is protected !!