मर्मत नहुँदा मेची राजमार्गमा दुर्घटनाको जोखिम

रासस , ११०८५  पटक हेरिएको

मनोज अधिकारी
फिक्कल- मेची राजमार्गको इलामभित्र पर्ने विभिन्न स्थानमा सवारी दुर्घटना बढ्दो छ ।

अव्यवस्थित सडक संरचनाले सवारी दुर्घटना बढेपछि यात्रु र चालकले कष्टप्रद यात्राको सामना गर्नुपरेको छ । पूर्व–पश्चिम राजमार्गको झापा चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने सो राजमार्गअन्तर्गत इलाम खण्डको करिब ९० किलोमिटर सडक ठाउँ–ठाउँमा जीर्ण बन्दा सवारीसाधन दुर्घटना बाक्लिएको हो ।

गत असार १७ मा इलाम नगरपालिका १, मिलगोलाइमा सवारी दुर्घटना हुँदा १३ यात्रु घाइते भए । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गुडिरहेको को १ ज ३३२९ नं को जीप त्यहाँ दुर्घटना भयो । जीप अनियन्त्रित भई राजमार्गबाट अन्दाजी तीन सय मिटर तल पुवाखोला नजिकै झर्दा घाइते हुनेमध्ये फालेलुङ गाउँपालिका– १ की ३२ वर्षीया अप्सरा कोइराला, याङ्बरक गाउँपालिका– ५ का ५१ वर्षे प्रेम तामाङ र याङ्बरक गाउँपालिका ६ का २३ वर्षे दीपेन्द्र कोइराला गम्भीर घाइते हुनुभयो ।

गत मङ्सिर २८ मा इलामकै हर्कटे–फिक्कल सडक खण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । नौ जना घाइते भए । हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नं को भ्यान अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खस्यो । दुर्घटनामा माइजोगमाई गाउँपालिका–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिम्सिनाको मृत्यु भयो । गएको माघ १३ मा रोङ गाउँपालिका– ४ पहिरोस्थित मेची राजमार्गमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । एकजना गम्भीर घाइते भए । झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ नं को खाली पिकअप सडकबाट करिब पाँच सय मिटर तल खस्दा त्यसमा सवार झापा मेचीनगर नगरपालिका– ४ का ५५ वर्षीय रमेश थापा र त्यहीँका ४० वर्षीय सूर्यबहादुर थापाको घटनास्थलमै मृत्यु भयो । सवारी चालक ३३ वर्षे अर्जुन कोइराला सख्त घाइते हुनुभयो ।

यी त प्रतिनिधि घटनामात्रै हुन् । आर्थिक वर्ष २०७८÷७९ मा सो राजमार्गअन्तर्गत इलाम खण्डमा साना–ठूला गरी १८ सवारी साधन दुर्घटना भएको तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग छ । कार्यालय प्रमुख शैलेन्द्र गच्छदारले यो अवधिमा १० जनाले ज्यान गुमाएको र १८ जना घाइते भएको बताउनुभयो ।

“दुर्घटनाको मुख्य कारण भत्किएको कालोपत्र, साँघुरो सडक, प्रतिकूल मौसम, अव्यवस्थित पार्किङलगायत छन्”, उहाँले भन्नुभयो, “ चालकको लापरबाही, मादकपदार्थ पिउनु, तीव्र गति र ब्रेक फेलजस्ता कारणले पनि दुर्घटना बढिरहेको छ ।”

झापाको चारआलीदेखि ताप्लेजुङसम्म दुई सय ६८ किलोमिटरको मेची राजमार्ग सबैजसो कालोपत्र भएको छ । तर, कालोपत्र भत्किएर सडकका बीच–बीचमा ठूूला खाडल पर्दा पनि मर्मतमा पर्याप्त चासो नभएको उपभोक्ताको गुनासो छ ।

प्रत्येक दिन हजारौँको सङ्ख्यामा साना र ठूला सवारीसाधन आउँ–जाउँ गर्ने मेची राजमार्ग जीर्ण बनिरहँदासमेत बेलैमा मर्मत गर्न आनाकानी भइरहेको सवारी चालकको गुनासो छ ।

इलाम–विर्तामोड सडकमा सवारी चलाउने चालक रमेश राई दिनहुँ सयौँ गाडी गुड्ने यो राजमार्गमा कतिबेला दुर्घटना हुन्छ भन्ने टुङ्गो नै नभएको बताउँनुहुन्छ । “ यात्रुको ज्यान जोखिममा राखेर सरोकारवाला मुकदर्शक बन्नु दुःखद् हो”, उहाँले भन्नुभयोे, “सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाले पनि सवारी गुडाउन असहज छ । कम्तीमा सम्बन्धित निकायले भएको सडकको क्षेत्राधिकार खाली गराउन र खाल्डाखुल्डी पुर्न त सक्नुपर्ने हो ।”

सदरमुकामस्थित डिभिजन सडक कार्यालयले सूर्योदय नगरपालिकाको समन्वयमा सडकको दायाँ–बायाँ क्षेत्राधिकार रहेको १५ मिटरमा निर्माण भएका संरचना हटाउने प्रयास यसअघि नगरेको होइन । सडक डिभिजन र नापी कार्यालयको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पाल्टाँगेसम्म चार किलोमिटरमा सडकको दायाँ–बायाँ एक हजार पाँच सय मिटर क्षेत्रको नक्शाङ्कन गर्ने काम पनि भयो ।

पर्यटकीय क्षेत्र कन्यामको सौन्दर्यमा नयाँ रौनक थप्न पहिलो चरणमै राजमार्ग विस्तार गरियो तर ठोस् उपलब्धि हुन नसकेको स्थानीयवासी बताउँछन् । आज पनि यो क्षेत्र साँघुरो छ भने सडक अतिक्रमण गरी बनाइएका संरचना पूर्ण रूपमा हटेका छैनन् । सदरमुकामबाट राजदुवालीसम्मको राजमार्ग खण्ड धेरै स्थानमा भास्सिएको छ । भौगोलिक रूपमा कमसल, उकालो र घुमाउरो बाटोका कारण यो क्षेत्रमा राजमार्ग नै दबिएको हो । यही क्षेत्रमा दुर्घटना धेरै हुने गरेका छन् ।

सवारी दुर्घटनाको जोखिम बढ्दै जाँदा ट्राफिक प्रहरीलाई पनि व्यवस्थापनमा समस्या भएको छ । इलाममा ट्राफिक प्रहरीको सङ्ख्या नै कम भएकाले पनि जिल्लाको ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ । अहिले मेची राजमार्गको इलाम खण्डमा १९ जना ट्राफिक प्रहरीले सेवा दिइरहेका छन् । सरोकारवालाले पनि दुर्घटनाको दोष चालकलाई मात्र दिएर सडकको दुरावस्थामा ध्यान नदिएको यातायात व्यवसायीको गुनासो छ ।

चालकले ट्राफिक नियम पालना नगर्दा अनिवार्य रूपमा राजस्व तिर्नुपर्छ । तर, भत्केको र जीर्ण सडक मर्मतमा निर्माण कर्ताले ढिलासुस्ती गर्दा अनुगमन र कारबाही हुनसकेको छैन ।

गत आर्थिक वर्ष २०७८÷७९ मा नियमविपरीत कुदाइएका तीन हजार आठ सय ९३ मोटरसाइकलबाट प्रहरीले रु बाइस लाख ४५ हजार राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा नियमविपरीत चलेका सबै प्रकारका सवारी साधनबाट साढे ५१ लाख राजस्व सङ्कलन भएको तथ्याङ्क छ ।

प्रकाशित मिति: २०२२-०८-३१ , समय : १९:०९:३४ , २ वर्ष अगाडि