झापा एक्सप्रेस , १७५९५ पटक हेरिएको
सुरुङ्गा ।प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य हिराकुमार थापाले नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिने संकेत गरेका छन् ।
पार्टीको निर्णयलाई आत्मसाथ गर्दै आगामी मंशीर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. ४ बाट पार्टीले टिकट दिए चुनाव लड्ने संकेत गरेका हुन् ।
प्रदेशसभा सदस्य थापा प्रदेश सांसद भएपछि उनको ५ बर्षे कार्यकालमा भए गरेका बिकास निर्माणका कार्यहरुको सार्वजनिकरण गर्दै मंगलवार (आज) सुरुङ्गामा पत्रकार भेटघाटका क्रममा प्रतिनिधिसभाको उम्मेद्वार बन्ने आकांक्ष ब्यक्त गरेका हुन् ।
पत्रकार भेटघाटका क्रममा सांसद थापाले आर्थिक बर्ष २०७४/०७५ देखि २०७९/०८० सम्मका बिकास निर्माणका कार्यहरु सार्वजनिक गरेका थिए ।
प्रदेशसभा सदस्य थापाले दोर्याएर अव प्रदेशमा नजाने बताउँदै भने ‘अवसर नपाउने साथीहरुका लागि ठाउँ खाली गरिदिएको छु’ उनले भने ‘यसैगरी मलाई पनि संघीय सांसदको ठाउँ खाली गर्दिनु पर्छ ।’ प्रदेशसभा सदस्य थापाले प्रदेश सांसद भएर एकखालको अनुभव प्राप्त गरेको बताउँदै प्रतिनिधिसभा सांसद हुने उमेर पनि पुगेको बताए । उनले आफुले प्राप्त गरेको अनुभवका आधारमा एकपल्ट संघीय सांसद भएर जनताको सेवा गर्ने रहर जागेको बताएका छन् ।
प्रदेश नम्बर १ को नामकरण हुन नसकेको बिषयमा पत्रकारहरुले राखेको जिज्ञासामा प्रदेशसभा सदस्य थापाले नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र, नेपाली कांग्रेससहित अन्य दलका सांसदहरुमा एकमत नभएका कारण नामकरण हुन नसकेको बताएका छन् ।
प्रदेशसभा सदस्य थापाको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा नेकपा एमाले सल्लाहकार परिषद सदस्य बालकृष्ण मैनालीको प्रमुख आतिथ्य रहेको थियो । थापाका स्वकीय सचिव बिनोदकुमार थापाले सञ्चालन गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२२-०८-३० , समय : १८:५८:०८ , २ वर्ष अगाडि