हाम्रो प्रतिबद्धता-नसुनिएका आवाज सुनाउने छौँ

Jhapa Express , ९१२५  पटक हेरिएको

डिजिटल प्रविधिले फड्को मारेको छ । हातहातमा मोबाइल छ । मानिसले पल-पलको खबर खोजिरहेका छन् । पलपलको खबर दिन हजारौँ अनलाइन संचारमाध्यम छन् । यही भिडमा हामी उदाएका छौँ । तर, फरक उद्देश्यले । झापा एक्सप्रेस पहिचानविहीन बन्न हैन पहिचान बनाउन आएको छ । हामी ब्रेकिङको हतारोमा छैनौँ ।

हामी सत्य र गहन विषयको उठान गर्ने छौँ । राज्य सत्ताले नसुनेका आवाजलाई टपक्कै टिपेर हामी सुनाउने छौँ । अर्थात् नसुनिएका आवाजको ‘भरिया’ बन्ने छौँ । हामी पहुँचवालाको हैन सामाजिक संरचनाले पिँधमा पुर्‍याएको वर्ग र समुदायको आवाज बन्नेछौँ ।

झापा गाउँपालिका जस्तो ग्रामिण भेगमा रहेर अनलाइन संचार माध्यम स्थापना गर्ने आँट गरेका हामीले मूलधारका संचारमाध्यमले नदेखेका जनताका कथा बोक्ने छौँ । ग्रामिण जनताका आवाज बन्ने छौँ । राज्यलाई उनीहरूको आवाज सुनाउने छौँ । हामी हाम्रो प्रतिबद्धताबाट कुनै हालतमा विचल्लित् हुने छैनौँ । हामी कसैको मूल्यांकनमा पर्न चाहदैनौँ । हामी त हाम्रो पाठक वर्गको मूल्यांकनको कसीमा बसेर सधैँ सत्यको पक्षमा कलम चलाउनेछौँ ।

हामी निष्पक्ष पत्रकारिताको अभ्यास गर्नेछौँ । तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन,कानुनले पक्ष लिनैपर्ने वर्ग, समुदायको पक्षमा सधैँ रहनेछौँ । सत्य हाम्रो पक्ष हो । प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहितामाथि रहेर पत्रकारिता गर्नु हाम्रो मुख्य उद्देश्य रहनेछ । हामी कसैलाई उचाल्न, थेचार्न आएका हैनौँ । अनलाइनमार्फत जनपक्षीय पत्रकारिता गर्नु हाम्रो मुख्य उद्देश्य हो । राज्यसत्ता माथि हाम्रो सधैँ निगरानी र खबरदारी रहनेछ ।

प्रकाशक

प्रकाशित मिति: २०२२-०३-०१ , समय : १७:०९:५१ , २ वर्ष अगाडि